पोददार कल्याण समाजको सेवा कार्य, महाशिवरात्रीमा वर्षेणी ५० हजार बढी भक्तजनलाई खुवाउँछन् खाना र खाजा


काठमाडौँ । पोददार कल्याण समाज र सेवाका लागि साथीहरू संस्थाले महाशिवरात्रीको अवसरमा भक्तजनहरूलाई निशुल्क चिया,पानी,खाजा तथा खाना खुवाएको छ । 

तिलगङ्गामा हिजो बेलुकीदेखि नै महाशिवरात्री पर्वको अवसरमा पशुपति दर्शनमा आउने भक्तजनहरूलाई निशुल्क खाजा तथा भोजन खुवाइएको हो । समाजका अध्यक्ष राजकुमार पोददारले हिजो बेलुकीदेखि  आज बेलुकीसम्म खाजा खाना खुवाउने जानकारी दिए । 

हरेक वर्ष शिवरात्रीको अवसरमा दुबै संस्था मिलेर भक्तजनहरूका लागि खाजा खानाका साथै स्वास्थ्य सेवा समेत दिने गरिएको  अध्यक्ष पोदारले जानकारी दिए । यस वर्ष कम्तिमा ५० हजार जनालाई निशुल्क खाजा खानाको व्यवस्था गरिएको समाजले जनाएको छ । 

समाजका अध्यक्ष पोद्दारले भने,“भारतदेखि आएका भक्तजनहरूले समेत हिजो बेलुकीदेखि नै खाजा खाना खुवाइरहेका छौँ । स्वास्थ्य सेवा समेत प्रदान गरेका छौँ । कम्तिमा ५०-६० हजार जनाले सेवा लिने हाम्रो अनुमान छ।”  

हरेक वर्ष हुने यस कार्यक्रमका लागि विभिन्न क्षेत्रबाट सहयोग हुने समाजका अगुवा रणजीत पोद्दारले जानकारी दिए । उनले भने,“ यो कार्यमा साथिहरू, व्यवसायीहरूले पनि आ—आफ्नो तरिकाले सहयोग गर्नुहुन्छ ।”  

सेवामा सक्रिय उद्यमी राम जैनले आफूहरूले सक्दो सहयोग रेको बताए । उनले भने,“ यस्तो अवसरमा केही न केही सहयोग गर्नु हाम्रो संस्कार पनि हो । म र मेरो कम्पनीले सक्दो साथ दिने गरेका छौँ ।” 

सन्तोष किशोर लाभले  महाशिवरात्रीको अवसरमा भक्तजनहरूलाई सेवा दिन पाउँदा खुशी लागेको बताए ।