काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् ।
मंगलवार ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताए ।
उनले राम्रो काम गर्नेहरुलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको उल्लेख गरे । राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति उनले चिन्ता व्यक्त गरे । उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गरे ।
अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको उनले बताए । उनले यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गरे ।
“नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, यसको झुटो आरोप लगाउने, त्यसमाथि बिरोध गर्ने । कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने । आफू सरकारमा भयो भने नाटक गर्ने । नाटकमै समय बित्छ । अर्कोले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने । यो भन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक मैले नेतृत्व गरेको सरकारमा एक सय एक ऐतिहासिक काम भएका छन्,” प्रधानमन्त्री ओलीले भने, “पूर्वाधार निर्माणका कुरा हुन्, विकासका कुरा हुन्, शिक्षा क्षेत्र, अरु पनि कुरा हुन् । अहिले पनि एसईईलाई ध्यानमा राखेर व्यक्तिगत तवरमा युवाहरुलाई आग्रह गरेर व्यक्तिगत तवरमा पनि सञ्चालन गरिरहेको छु एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरुलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरुको ठूलो साथ सहयोग र सहभागिता छ । यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्य मैले राखेको छु । सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्नसक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि ।”
प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताए । उनले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने उनले बताए ।
“अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु । हो की होइन मैले अध्ययन गर्नुपर्छ । कसैले मलाई त्यस्तो भनिरहेको छैन, म चर्चा सुनिरहेको छु । खुद नर्सहरुले पनि न्युनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने उनीहरु पनि श्रमीक हुन् । उनीहरु पनि काम गर्दछन्,” प्रधानमन्त्री ओलीले भने, “उनीहरु श्रमजीवि भन्दा फरक होइनन् । आज ह्वाइट र ब्लु गर्ल छुट्याउने गरिन्छ, त्यो पनि अब छुट्याउन जरुरी छैन । बिस्तारै सबै ह्वाइट कलरमा जानुपर्छ । यो न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तल दिन पाइँदैन ।”
प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउनु भयो । रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्