काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास बिरोधीहरुलाई चिन्ने बेला आएको बताएका छन् ।
बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास बिरोधी भएको बताएका हुन् । उनले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको बिरोधमा स्थानीयहरूभन्दा अरू नै लागेको बताए ।
उनले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताए । उनले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गरे । विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताए ।
“आज पाथीभरामा, पाथीभराको कुनै धार्मिक संस्कार, सम्पदा मास्न खोजिएको छैन । कोही अधर्मी हुन सक्दैन । तर आज जुन हिसावले आज जे खालको गतिविधि भइरहेको छ ? त्यो सुहाउने किसिमको छ ? विषयवस्तु एकातिर छ । अनि एकथरी अर्को कुरा गरेर हिँडिरहेका छन् । अब हामीले देशमा विकास गर्ने को र विकास बिरोधी को हो भन्नेकुरा बुझ्नुपर्ने बेला भएको छ । जनताले यो कुरा बुझ्नैपर्छ,” उनले भने ।
मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताए । उनले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताए । त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्