काठमाडौँ । डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरूले काठमाडौँ महानगरपालिकाका उपप्रमुखसँग भेटघाट गरेर कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित भएको बताएका छन् ।
महानगरपालिकाकाले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल गर्दै उनीहरूले विभिन्न जातका जडिबुटी, फापरलगायत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगायत तरकारी, दूध, मासुलगायत पशुजन्य उत्पादन, ऊन, पश्मिनालगायत लत्ताकपडा काठमाडौँलाई दिन सकिने बताएका हुन् ।
यसबाट स्थानीयको आयमा वृद्धि बताउँदै उनीहरूले, डोल्पाबाट धेरैले धेरै लिएको तर थोरै दिएको बताउँदै महानगरपालिकाको कार्यक्रमबाट लिनेदिने बराबरी हुने धारणा राखे । छलफलमा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङ्, सेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्सहित वडाध्यक्षहरु, रोजगार संयोजक, स्वास्थ्यकर्मीसहितको टोली थियो ।
छलफलमा उनीहरूले डोल्पा जिल्ला विकासका दृष्टिले पछाडि परेको र महानगरपालिकाबाट यसको उन्नतिका लागि सहयोग प्राप्त हुने अपेक्षा राखेपछि उपप्रमुख डंगोलले, एक पटक दिएको सहयोग दिगो नहुने बताउँदै महानगरपालिका वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने गरी सहयोग गर्ने नीतिमा रहेको बताइन् । “एग्रो पुलिङ् हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो । यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौँका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ,” उनले भनिन् ।
एग्रो पुलिङ् कार्यक्रममार्फत महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने भएकोले यही कार्यक्रममार्फत डोल्पाका स्थानीय तहसँग काठमाडौँले काम गर्न सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले धारणा राखे ।
छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष गुरुङ्ले, ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्