काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५० प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित ऋण सुविधा (ईसिएफ) कार्यक्रमको पाँचौँ समीक्षा गर्ने क्रममा सो प्रक्षेपण गरेको हो।
नेपालको आन्तरिक स्रोत परिचालन कमजोर रहेसँगै देशले ऋण लिने क्रम बढ्दा चालू आर्थिक वर्षमै देशको ऋणभार जिडिपीको ५० प्रतिशत पुग्ने र आगामी तीन वर्ष स्थिर गतिले बढ्ने अनुमान गरिएको छ। मुद्रा कोषका अनुसार गत वर्ष नेपालको ऋणभार वास्तविक जिडिपीको ४८.२ प्रतिशत पुगिसकेको थियो। यो सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गर्ने गरेको ४२.७ प्रतिशतभन्दा बढी हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिना (साउन–माघ) सम्म कुल सार्वजनिक ऋण २६ खर्ब ६१ अर्ब ६ करोड पुगेको छ। यसमध्ये १३ खर्ब १८ अर्ब रुपैयाँ बाह्य ऋण हो भने १२ खर्ब ८२ अर्ब रुपैयाँ आन्तरिक ऋण हो।
सरकारले पुस मसान्तसम् २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक ऋण लिइसकेको छ भने बाँकी अवधिमा २ खर्ब ५६ अर्ब ४२ करोड रुपैयाँ ऋण लिने लक्ष्य छ ।
आर्थिक वृद्धिदर ४.२ प्रतिशत पुग्ने
मुद्रा कोषले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.२ प्रतिशत पुग्ने अनुमान गरेको छ । कोभिड-१९ पछिको प्रभाव र आन्तरिक मागमा कमीको कारण गत आर्थिक वर्षमा २ प्रतिशतमा सीमित बनेको आर्थिक वृद्धिदर यो वर्ष सुधार आइ ४.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।
रेमिट्यान्स साढे १५ खर्ब रुपैयाँ पुग्ने
मुद्रा कोषले चालू आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स प्रवाह ११ अर्ब १५ करोड १० लाख अमेरिकी डलर (१५ खर्ब ५० अर्ब रुपैयाँ ) पुग्नेछ। आर्थिक वर्ष २०८०/८१ को सात महिना (साउन–माघ) ९ खर्ब ५७ करोड रुपैयाँ (६ अर्ब ६५ करोड डलर) बराबरको रेमिट्यान्स भित्रिइसकेको छ ।
थप करिब ६ अर्ब ऋण स्वीकृत
मुद्रा कोषको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित ऋण सुविधा कार्यक्रमको पाँचौँ समीक्षा गर्दै नेपाललाई विशेष ड्रइङ अधिकार (एसडिआर) ३१.४ मिलियन (करिब ४१.८ मिलियन अमेरिकी डलर/ करिब रु ५.८१ अर्ब) को थप आर्थिक सहायता स्वीकृत गरेको छ ।
आईएमएफले नेपाललाई सन् २०२२ जनवरी १२ मा चारवर्षे विस्तारित ऋण सुविधा कार्यक्रम अन्तर्गत कुल SDR २८२.४ मिलियन (कुल कोटाको १८० प्रतिशत) उपलब्ध गराउने निर्णय गरेको थियो। हालसम्म नेपालले बजेट सहायताका रूपमा एसडिआर २१९.७ मिलियन (२८ करोड ९१ लाख अमेरिकी डलर/ करिब रु ४०.१८ अर्ब) प्राप्त गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्