काठमाडाैँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको दाबी गरेका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमार्फत कार्यान्वयनगत सुधार ल्याउन खोजेको बताएका हुन्। उनले विधेयकहरुमा अझैपनि सुधार गर्न जरुरी रहेको भएपनि प्रतिपक्षी दलले नबुझि विरोध गर्न खोजेको आरोप लगाए। उनले विधेयकको प्रक्रियामा विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? भन्दै प्रश्न गरे ।
“अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले केही कुरा गर्न खोजेको छ । केही नीतिगत सुधार, कानूनी सुधार र कार्यान्वयनगत सुधार ल्याउन खोजेको छ । तर यो पनि पर्याप्त छैन । यतिले मात्र हाम्रो मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । त्यसैले अझै थप सुधारका आवश्यकताहरु छन् । तर प्रतिपक्षी दलहरुले अलि धेरै नै विरोध भएको जस्तो देखे प्रक्रियामै विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? त्यो मैले बुझेको छैन । यसमा थप विरोध गर्नुभन्दा यसमा थप कुराहरु त्यसमा थप्न जरुरी छ,” उनले भने ।
उनले विरोधको लागि विरोध गर्नुभन्दा विधेयकमा आवश्यक सुधारका कुराहरू थप्न समेत प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्