काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार (चैत ३) देखि कर्मचारीहरूका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरू गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरू गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ ।
तालिम सुरू गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे । महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा उनकाे जोड थियो ।
“आफ्नो लिपि, संस्कार, संस्कृति, परम्परा, थरजस्ता पहिचान भन्न अप्ठ्यारो मान्नु हुँदैन । अप्ठ्यारो मान्नु पर्ने वातावरण बनाउनु हुँदैन,”संगतले भने, “सरकारी कामकाजी भाषाका रूपमा बागमती प्रदेशले मान्यता दिएका भाषामध्येको नेपाल भाषासँगै तामाङ् भाषाको पनि तालिम चलाउँछौँ ।”
“वडा नंं १८ ले २०७४ सालदेखि नै नेपाल भाषामा निवेदन लिन थालेको हो । कार्यालयमा कार्यरत कर्मचारीहरुमा भाषाको ज्ञान भयो भने निवेदन कार्यान्वयनमा सजिलो हुने रहेछ । यसकारण अहिले थालिएको तालिमले नतिजा दिन्छ भन्ने लागेको छ,” तालिममा सम्पदा तथा पर्यटन समितिका सदस्य न्हुच्छेकाजी महर्जनले भने,”नेपाल लिपि र नेपाल संवत् देशकै नाममा विकसित भएका मौलिक पहिचान हुन् । संयुक्त राष्ट्र संघमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेश गरिएको थियो । यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठुलो योगदान हुनेछ ।”
प्रतिक्रिया दिनुहोस्