काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माण कार्यलाई तिब्रता दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आएका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले पद सम्हालेको ९० दिनमा विपद्पछिको पुनर्निर्माण, राहत वितरण तथा अस्थायी आवास गृह निर्माण र क्षति संकलनमा उल्लेख्य प्रगति हासिल गरिएको हो ।
विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माणकार्य, राहत वितरण, नीति निर्माणदेखि आपतकालिन सामग्रीहरुको गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण लगायत र क्षति आँकलनका कामले तिब्रता पाएका छन् । २०७९÷२०८० सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण र पुनस्र्थापनालाई तिब्रता दिँदै जाजरकोट, अछाम र बझाङ जिल्लामा ‘जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई’ स्थापना गरि काम गरिएको छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका आपतकालीन सामाग्रीका गोदामहरू पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । भुसालले सिईओ पद सम्हाले यता पश्चिम नेपाल भूकम्प तथा बाढीजन्य विपद् पुनर्निर्माण तथा पुनर्लाभ योजना २०८१÷८२–२०८३÷८४ स्वीकृत भएको छ । सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि, सञ्चार रणनीति, आपतकालीन गोदाम सञ्चालन कार्यविधि लगायत नीति निर्माणमा समेत प्राधिकरणले उल्लेखनीय प्रगति गरेको छ ।
न्युज एजेन्सी नेपालका संवाददातासँग संक्षिप्त कुरा गर्दे प्राधिकरणका कार्यकारी प्रमुख भुसालले अधिकार सहितको सिईओको २ महिना र नेतृत्वको ३ महिनाको समयमा लामो समयदेखि अड्किएका थुप्रै काम सम्पन्न गरिएको बताए।
भुसालको नेतृत्वको समयमा डोटी भूकम्प प्रभावित ९ हजार ६८२ लाभग्राही पहिचान गरी अनुदान सम्झौता गरिएको छ । माघ २ गते डोटीबाट र फागुन २२ र २४ गते क्रमशः डडेल्धुरा र अछामबाट पहिलो किस्ता वितरण गरिएको थियो । जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षति आँकलन तीव्र गतिमा भइरहेको छ । अहिलेसम्म १७ हजार घरहरूको विस्तृत आँकलन पूरा भइसकेको छ ।
सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समिति, नगर प्रहरी लगायतलाई विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम सञ्चालन र लमजुङको पहिरो प्रभावित क्षेत्रको स्थलगतअध्ययन समेत प्राधिकरणले गरेको छ । भुसालको नेतृत्वमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार बजेट निकासा र कार्यान्वयन प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ ।
यसैबीच सरकारले सोमवार प्राधिकरणको कार्यकारी प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य दिनेश भट्टलाई नियुक्त गरेको छ । उनलेपदभार सम्हाल्न बाँकी छ । यसअघि अनिल पोख्रेलको कार्यकाल सकिएपछि सरकारले सहसचिव भुसाललाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको थियो ।
—न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्