टाटा मोटर्स र किया इन्डियाले अप्रिलदेखि कारको मूल्य वृद्धि गर्ने घोषणा


काठमाडाैँ । मारुति सुजुकीपछि टाटा मोटर्स र किया इन्डियाले पनि आफ्ना गाडीको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन्। यी नयाँ मूल्यहरू अप्रिल २०२५ देखि लागू हुनेछन्। यसअघि, यी कम्पनीहरूले जनवरीमा पनि आफ्ना सवारीसाधनको मूल्य बढाएका थिए।

कम्पनीहरूले मूल्य वृद्धि गर्ने मुख्य कारण उत्पादन लागत तथा ढुवानी खर्चको वृद्धि भएको बताएका छन्। अटो उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विशेष गरी स्टिल, एल्युमिनियम र प्लास्टिकको मूल्य बढ्नुका साथै ढुवानी तथा आपूर्ति शृंखलामा लाग्ने खर्च वृद्धि भएकाले मूल्य बढाउने निर्णय गरिएको हो।

टाटा मोटर्सले अप्रिल २०२५ देखि आफ्ना सबै प्रकारका पेसेन्जर सवारीसाधन-पेट्रोल, डिजेल तथा विद्युतीय गाडीहरूको मूल्य बढाउने घोषणा गरेको छ। कम्पनीले अझै कति प्रतिशत मूल्य वृद्धि गर्ने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन। टाटाले तीन महिनाभित्र दोस्रो पटक मूल्य बढाउन लागेको हो। यसअघि, कम्पनीले जनवरीमा ३ प्रतिशतसम्मको मूल्य वृद्धि गरेको थियो।

टाटा मोटर्सले मंगलबार एक्सचेन्ज फाइलिङमार्फत जानकारी दिँदै उत्पादन लागत तथा अन्य इनपुट खर्च बढेकाले मूल्य वृद्धि आवश्यक भएको बताएको छ। कम्पनीका अनुसार विभिन्न मोडेल तथा भेरियन्टअनुसार मूल्य वृद्धिको दर फरक हुनेछ। साथै, टाटाले अप्रिल २०२५ बाट व्यावसायिक सवारीसाधनको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरिसकेको छ।

यस वर्ष, टाटा मोटर्सले विभिन्न नयाँ मोडेलहरू बजारमा ल्याउने योजना बनाएको छ। कम्पनीले टाटा ह्यारीयरको विद्युतीय संस्करण तथा टाटा सिरियाको नयाँ मोडेल पुनः ल्याउने तयारी गरिरहेको छ।

यसैबिच दक्षिण कोरियाली अटोमोबाइल कम्पनी किया मोटर्स इन्डियाले पनि अप्रिल २०२५ देखि आफ्ना गाडीहरूको मूल्य बढाउने निर्णय गरेको छ। कम्पनीले आफ्ना सबै मोडेलमा ३ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने जानकारी दिएको छ। कियाका अनुसार कमोडिटी मूल्यहरू बढ्नुका साथै ढुवानी तथा आपूर्ति लागत उच्च भएकाले मूल्य बढाउने निर्णय गरिएको हो।

कम्पनीले उत्पादनका लागि आवश्यक पर्ने स्टिल, एल्युमिनियम र प्लास्टिकको लागत बढ्नुका साथै शिपिंग, ट्रान्सपोर्टेसन र लॉजिस्टिक्स लागत वृद्धि भएकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ। मारुति सुजुकीले भने अप्रिल २०२५ देखि गाडीको मूल्य ४ प्रतिशतसम्म बढाउने घोषणा गरिसकेको छ। कम्पनीले र मेटेरियल महँगो हुनु तथा सञ्चालन लागत बढ्नु मूल्य वृद्धिको मुख्य कारण रहेको बताएको छ। यसअघि, फेब्रुअरी २०२५ मा मारुति सुजुकीले गाडीको मूल्य ३२ हजार ५०० भारुसम्म बढाएको थियो।