काठमाडाैँ । काठमाडौँको कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चारजनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
विशेष अदालतमा दायर आरोपपत्रअनुसार प्रधानाध्यापक नेपालले विद्यालयमा अनुपस्थित राहत शिक्षकको नाममा झुट्टा बिल भरपाई बनाई तलब निकासा लिई गैरकानूनी रूपमा सट्टा शिक्षक राखेको पुष्टि भएको छ। विद्यालयका सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, लेखापाल स्मृती रेग्मी, र सट्टा शिक्षकका रूपमा अध्यापन गराएकी श्रुती भण्डारी भनिने अम्विका घिमिरेसमेत भ्रष्टाचारमा संलग्न रहेको ठहर गरिएको छ।
अनुसन्धानका क्रममा प्रधानाध्यापक नेपालले अनुपस्थित शिक्षकको नाममा काठमाडौँ महानगरपालिकालाई जानकारी नगराई बि.सं. २०८० सालको माघदेखि २०८१ असारसम्मको तलब निकासा माग गरेको पाइयो। सो अवधिमा विद्यालयमा अनुपस्थित शिक्षकको ठाउँमा सहायक प्रधानाध्यापक घिमिरेको नाता पर्ने अम्विका घिमिरेलाई अध्यापन गराएको देखिएको छ।
त्यसैगरी, लेखापाल स्मृती रेग्मीले अनुपस्थित शिक्षकको नाममा तलब निकासा गराई सोही शिक्षकको नामबाट चेक जारी गरी सट्टा शिक्षकलाई भुक्तानी दिएको पाइएपछि उनीमाथि पनि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम मुद्दा दायर गरिएको छ।
विशेष अदालतमा दायर आरोपपत्रअनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को देहाय (ङ) अनुसार चारैजनालाई रु.१ लाख ५७ हजार ९१५ बिगो कायम गरी कैद र जरिवाना सजाय हुनुपर्ने माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्