उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल


काठमाडौँ । अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योगहरुमा अहिले दैनिक १२ घण्टासम्म लोडसेडिङ् गराएर उद्योगहरुलाई नेपाल विद्युत् प्राधिकरण प्रताडित बनाएको परिसंघको आरोप छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न सशंकित बनाइएको परिसंघले उल्लेख गरेको छ ।

केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ् गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरुमा विद्युत उपलब्ध नहुँदा उत्पादन लागतमा असर परेको थियो ।

परिसंघका अनुसार सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको छ ।

विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ भएको र कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने भन्दै उद्योगलाई नियमित विद्युत आपूर्ती हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार र सम्बन्धित पक्षसँग अपिल गरेको छ ।