काठमाडाैँ । क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिएका हुन् । उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिए ।
उनले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजि गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको उनकाे भनाइ छ ।तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संत्रलमण बढ्दै गएको छ । क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८.६ प्रतिशत रहेको उनले बताए ।
उनले भने, “गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरु पत्ता लगाएर औषधि उपचारमा लगाएका छौं । अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरु प्रतिवर्ष छन् भन्ने देखाएको छ । अझैपनि ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ । त्यस्ता बिरामीहरु पत्ता लगाउनको लागि हामीले विभिन्न क्रियाकलपाहरु गरिरहेका छौं । त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ ।”
क्षयरोग भए/नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्नेक्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्