काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटकाे यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरू बजेटमा ल्याउन नहुने बताएका हुन् ।
उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताए । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरू ल्याउनु पर्ने उनकाे भनाइ छ । उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने बताए । उनले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने औल्याए । सभामुख घिमिरेले योजना आयोगले पुरानै ढाँचामा नयाँ र महत्वपूर्ण योजना प्रश्तुत गरेको बताए । उनले योजना आयोगले योजना प्रस्तुत गर्दा नीति निर्माण स्थल संसदमा व्यापक छलफल गर्नुपर्नेको जोड दिए ।
प्रतिक्रिया दिनुहोस्