घिसिङको बर्खास्तीले तातियो सामाजिक सञ्जाल, प्रचण्डदेखि सत्तारुढ पार्टी नेता नै सरकारको विरोधमा


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध कडा प्रतिक्रिया जनाएका छन्। घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरी नेपाललाई ‘उज्यालो नेपाल’ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले सरकारको निर्णयलाई ‘गलत र आपत्तिजनक’ भन्दै घोर निन्दा गरेका छन्। उनले दुई तिहाई बहुमतको दम्भमा सरकारबाट गरिएको यो कदमप्रति असन्तुष्टि जनाउँदै यसको विरोध गर्न आह्वान गरेका छन्।

प्रचण्डले लेखेका छन्, “देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। हाम्रो सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ।”

उनले कुलमान घिसिङले विद्युत प्राधिकरणको बाँकी बक्यौता असुली गर्ने अडान लिएका कारण सरकारबाट पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गरिएको आरोप समेत लगाए।

“सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त गरेको खबर सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ। आशा गरौं यो खबर असत्य सावित होस्। यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ,” प्रचण्डले भनेका छन्।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि कडा असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले सरकारको निर्णयलाई ‘गलत’ भन्दै आलोचना गरेका हुन्। उनले जनतामा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो सरकारले उल्टै असन्तुष्टिको आगोमा मट्टितेल थप्ने काम गरेको आरोप लगाएका छन्।

थापाले लेखेका छन्, “आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहीँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?”

उनले सरकारलाई सचेत गराउँदै मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने उल्लेख गरे। तर अहिलेको अवस्थामा प्रधानमन्त्रीले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप उनले लगाए।

“हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,” थापाले लेखेका छन्।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। घिसिङको नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य भएको थियो जसका कारण उनी आम जनताबिच लोकप्रिय बनेका थिए।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा पनि तीव्र आलोचना भइरहेको छ।