काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको छ। महानगरले शाहलाई सार्वजनिक ठाउँमा फोहोर गरेको र तोडफोडमा संलग्न भएको आरोपमा जरिबाना तोकेको हो।
महानगरका ८ जना नगर प्रहरीले शाहको नाममा ८ वटा बेग्लाबेल्लै पत्र काटेर जरिबाना तोकेको जानकारी दिएको छ। तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोर फालिएको र तोडफोड गरिएको आरोप महानगरले लगाएको छ।
महानगरको विवरणअनुसार कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रमा जथाभावी फोहोर फालिएको भन्दै प्रतिक्षेत्र १ लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै दमकल तोडफोड गरेको आरोपमा १ लाख ३० हजार रुपैयाँ र तीनकुनेमा रुख, बिरुवा तथा रेलिङ तोडफोड गरेको आरोपमा ६३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
महानगरपालिकाले प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति पुर्याइएको भन्दै संलग्नहरूमाथि कारबाही अघि बढाउने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्