काठमाडाैँ । प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीहरूको गुण\दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठाएर संसद अवरुद्ध गर्न नमिल्ने बताएका हुन् । उनले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै निर्धारण गरेको बताए ।
कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने बताए ।कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल नगरेको खण्डमा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गर्न सकिने बताए।
नेकपा (माओवादी केन्द्र) ले केही दिनयता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । माओवादी केन्द्रले घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्रीले संसदमा आएर चित्त बुझ्दो जवाफ नदिएसम्म संसद अवरोध जारी रहने अडान राख्दै आएको थियो ।
आज प्रधानमन्त्रीले जवाफ दिएसँगै संसदको कारबाही अघि बढेको छ । प्रधानमन्त्री ओलीले अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको बताए ।
प्रतिक्रिया दिनुहोस्