अटोमोबाइल उद्योगमा नयाँ सहकार्य: नाडा र नाइमा सह-अस्तित्व स्वीकार्दै संयुक्त रूपमा अगाडि बढ्ने


काठमाडाैँ । लामो समयदेखि नेपालको अटोमोबाइल व्यवसायीहरूलाई प्रतिनिधित्व गर्दै आएको नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) अब नयाँ संस्थासँग सहकार्य गरेर अगाडि बढ्न लागेको छ।

नेपालमा अटोमोबाइल उद्योगसँग सम्बन्धित नीति निर्माण, व्यवसाय प्रवर्धन तथा समग्र विकासमा सक्रिय रहेको नाडाले नयाँ रूपमा स्थापित नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एसाेसिएसन (नाइमा) सँग एकअर्काेकाे सह-अस्तित्व स्वीकार गर्दै संयुक्त रूपमा अगाडि बढ्ने भएका छन् । दुइ संस्थाबीच बनेकाे समझदारीमा अटोमोबाइल व्यावसायीहरुले व्यावसायको प्रकृति र आवश्यकताका आधारमा दुबै संस्थाको सदस्य लिन पाउने भएका छन् । नाइमा गत फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको गैर नाफामूलक संस्था हो ।

नाइमाको स्थापना मोबिलिटी सशक्तीकरणको वकालत गर्न गरिएको जनाएकाे छ। यस संस्थामा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता कम्पनीहरूको सहभागिता रहने संस्थाले जनाएकाे छ । उद्योगको रणनीतिक विकास, दिगो तथा सुरक्षित यातायात प्रणालीको प्रवर्द्धन, उपभोक्ता शिक्षा, वातावरणमैत्री अभ्यास र पूर्वाधार सुधारका लागि नीतिगत पहलमा केन्द्रित हुने उद्देश्य बोकेको नाइमाले वैशाख ४ गते औपचारिक शुभारम्भ गर्ने संस्थाकी अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिइन् ।

शुभारम्भ कार्यक्रममा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तीकरणका लागि सञ्चालन गर्न लागिएका कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएको छ। यस संस्थाले सरकारसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सशक्तिकरणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

नाइमाको स्थापनासँगै सार्वजनिक बहसमा नाडाको भूमिकाबारे केही भ्रम सिर्जना भए पनि दुबै संस्था आ-आफ्नो उद्देश्यप्रति समर्पित रहेको नाडाले जनाएकाे छ । केही अटो कम्पनीहरू दुबै संस्थामा सदस्य हुन सक्ने भए पनि नाडा र नाइमा दुबै संस्था स्वतन्त्र रूपमा अगाडि बढ्ने र नेपालको अटोमोबाइल उद्योगलाई सशक्त बनाउने साझा उद्देश्यमा केन्द्रित हुने बताएका छन्।

नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरताका दिशामा अगाडि बढिरहँदा नाडा र नाइमाले उद्योगमैत्री नीति निर्माण, व्यवसायीहरूको हित संरक्षण र समग्र विकासमा साझा यात्रा तय गर्ने प्रतिबद्धता जनाएका छन्।