सरकारलाई निजी क्षेत्रको प्रश्नः कुन अदृष्य शक्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न दिएन ?


बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । 

सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दाबी गरे पनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न उठाएका हुन् । 

निजी क्षेत्रका लुम्बिनी प्रदेशस्थित चार संस्थाले संयुक्त विज्ञप्ति निकाल्दै सरकारकाे पुनः ध्यानाकर्षण गराएका हुन् । विमानस्थल चलाउन माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरू पटक पटक लविङ गर्दै आइरहेका छन् ।  

निजी क्षेत्रका लुम्बिनी प्रदेश स्तरीय संघसंस्थाहरुले सोमवार संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘कुन अदृष्य शक्तिले लुम्बिनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ? त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ 

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पाेखरेल, नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश उद्याेग परिसंघका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्याेग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेकाे संयुक्त विज्ञप्तिमा सरकारले निजी क्षेत्रबाट मागेकाे साथ दिन तयार रहेकाे जनाउदै गम्भीर बन्न अनुराेध गरिएकाे छ । 

विज्ञप्तिमा विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेकोमा दुख गरिएकाे छ । 

वैदेशिक रोजगारीमा जान चाहाने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परिक्षण कार्यालयहरुको  स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक पटक आग्रह गर्दा पनि सुनुवाई हुन नसकेकाे जनाउदै खेद प्रकट गरिएकाे छ । 

विमानस्थल निर्माण शुरु भएसँगै उत्साहित भएर सरकारकै आब्हानमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुले गरेको ५० अर्ब भन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई  पटक पटक निरास बनाउने काम नगर्न चेतावनी दिएका छन् । 

नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेकोप्रति निजी क्षेत्रले गम्भीर चासाे व्यक्त गरेका छन् । कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि माग विज्ञप्तिमार्फत गरिएकाे छ। 

निजी क्षेत्रका प्रतिनिधीले लुम्बिनी प्रदेशकाे अर्थतन्त्रकाे मेरूदण्डकाे रूपमा हेरिएकाे विमानस्थल सञ्चालनमा तदारूकता देखाउन सरकारसँग अनुराेध गरेका हुन् । 

यसअघि पनि प्रदेश र संघीय सरकारका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटेर, ज्ञापनपत्र बुझाएर पनि विमानस्थल सूचारू गर्न माग गर्दै आएका छन् ।