बन्दीपुर केबलकारले तीन पत्रकारलाई पुरस्कृत गर्ने,छनौट समिति गठन



काठमाडौँ । बन्दीपुर केबलकारले तनहुँमा पर्यटन विकास र उद्यमशिलता प्रवर्धन क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाका अवसरमा तीन पत्रकारलाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गर्न लागिएकाे हो । साधारण सभा २०८२ वैशाख ६ गते हुँदैछ ।

योग्य पत्रकारहरुको छनौट गरी कम्पनीको बोर्डमा सिफारिस गर्न बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका सञ्चालक तारानाथ उपाध्ययको संयोजकत्वमा समिति गठन गरिएको छ ।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने,“ समितिले छनौटको मापदण्ड पुरा गरि पुरस्कार दिन योग्य पत्रकारहरू छनौट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गर्नेछ ।”

प्रत्येक वर्ष साधारण सभाको अवसरमा कम्पनीले पत्रकारहरूलाई सम्मान गर्दै आइरहेको छ ।

संयोजक उपाध्ययले तनहुँ जिल्ला भित्रका पत्रकारहरूलाई विशेष प्राथमिकता दिएर पत्रकारहरूलाई पुरस्कृत गरिने जानकारी दिए ।