काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीवारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए ।
पौडेलकाअनुसार संविधान निर्माणसँगै जनतामा समृद्धी र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ । सांसदहरुको भुमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसावले अघि बढाउनुपर्नेमा जोड समेत दिए ।
उनले भने, “अनुशासित ढंगले स्रोत व्यवस्थापन, परिचालन गर्ने ढंगले जान सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं । त्यसकारणले मुलुकलाई आर्थिक रुपमा अप्ठ्यारोमा पर्न दिनुहुँदैन । ठिक ढंगले अघि बढ्नुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।”
अर्थ मन्त्रालयका सहसचिव श्यामपसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयल लागिरहेको बताए । उनले धेरै मन्त्रालयहरुले सिलिङ नपुगेको बताउने गरेको बताउँदै खर्चको स्थिति कमजोर भएपनि बजेट डिमाण्ड उच्च रहेको उल्लेख गरे ।
उनले भने, “अहिले खर्चको स्थीति हेर्ने हो भने ५० प्रतिशतको हाराहारीमा छ । बजेटको डिमाण्ड जहिले पनि उच्च छ । लक्ष्य महत्वाकांक्षी राख्ने, खर्चको सीमा पनि त्यही अनुसारको राख्ने हुँदो रहेछ ।”
उनले रकामान्तर गर्नका लागि पनि पहिल्यै ठूलो बजेट माग गर्ने प्रवृत्ति रहेको बताए । बजेटमा तयारी नपुगेका योजनाहरु राख्दा समेत समस्या भइरहेको उनको भनाई छ ।
राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकार जिम्मेवार नदेखिएको बताए । उनले संसदीय समितिमा समेत अर्थमन्त्रीका कारण प्रि बजेट छलफल हुन नसकेको बताए । ग्रे लिस्टमा पर्नुको जिम्मेवारी सरकारले नलिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
उनले भने, “ग्रेलिस्टमा पर्नु सरकारको कारणले होइन भनेर अर्थमन्त्रीले भन्नुभयो । यो भन्दा अघिको सरकारमा को थियो ? नेकपा एमाले होइन । सबभन्दा बढी मन्त्रालयको नेतृत्व गरेर एमाले सरकारमा बसेको होइन । त्यसको जवाफदेही एमाले हुनु पर्दैन ।”
अन्य सदस्यहरुले आगामी वर्षको बजेटलाई कार्यान्वयनमुखी बनाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्