काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।
उनले नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्ने समयका रूपमा चित्रण गरेका छन्।
“अनेकौं कठिनाइका बिच प्राप्त उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढ्न सकिन्छ भन्ने विश्वास लिएको छु,” ओलीले भने, “देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो।”
उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न सरकार मात्र होइन, स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे। जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पत्ति भएको भन्दै ओलीले सहिष्णुता र राष्ट्रप्रेमको भावनाले मात्रै देशलाई अगाडि बढाउन सकिने बताए।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीले विकासलाई सपना नभएर यथार्थ बनाइरहेको उल्लेख गर्दै ग्रामीण भेगसम्म पुगेको पूर्वाधार, जनजीवनमा देखिन थालेको सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा आएको सुधारलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गरे।
युवालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारको नीति रहेको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्