काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विदेशमा उत्पादित सवारीसाधनमा २५ प्रतिशत आयात शुल्क लगाउने निर्णयपछि विश्वकै अटो उद्योगमा हलचल मच्चिएको छ। त्यसको प्रभावस्वरूप जापानी अटो कम्पनी निसानले आफ्नो अमेरिकी बजारमा सबैभन्दा बढी बिक्ने मोडल ‘रोगु’ एसयूभीको उत्पादन जापानमा कटौती गर्ने भएको छ।
निसानले मेदेखि जुलाईसम्मको अवधिमा जापानको क्युशुस्थित प्लान्टमा रोगु उत्पादन १३ हजार इकाइले घटाउने योजना बनाएको छ। यो कटौती अमेरिका पठाउने रोगु एसयूभीको कुल संख्याको पाँचौं भागभन्दा बढी हो। यो वर्षको पहिलो तीन महिनामा मात्रै अमेरिका भित्रिएको रोगुको संख्या ६२ हजार रहेको थियो।
निसानको क्युशु प्लान्ट कम्पनीको सबैभन्दा ठूलो उत्पादन केन्द्र हो। आगामी तीन महिनासम्म यहाँका कामदारहरूलाई केही दिन छुट्टी दिइनेछ र कामको घण्टा पनि घटाइनेछ। यद्यपि प्लान्ट दुई सिफ्टमै सञ्चालन हुने बताइएको छ। निसानले भविष्यमा अमेरिकी ट्यारिफको अवस्थालाई मूल्याङ्कन गरेर उत्पादन रणनीति पुनः समीक्षा गर्ने जनाएको छ।
निसानको प्रमुख बजार अमेरिका हो । जहाँ कम्पनीले गत वर्ष बेचेको कुल सवारीमध्ये एक चौथाइभन्दा बढी बेचिएको थियो। तीमध्ये धेरै सवारी जापान वा मेक्सिकोमा निर्माण भएका थिए। रोगु एसयूभी निसानको सबैभन्दा बढी बिक्री हुने मोडल हो। गत वर्ष मात्रै अमेरिका बजारमा झण्डै २ लाख ४६ हजार रोगु बिक्री भएको थियो, जुन कम्पनीको कुल अमेरिकी बिक्रीको एक चौथाइभन्दा बढी हो। यता, अन्य अटो कम्पनीहरू पनि अमेरिकी ट्यारिफको प्रभावबाट बच्न रणनीति परिवर्तन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्