जलवायु परिवर्तनसम्बन्धी मुद्दाका लागि संघीय संसदका सांसदहरूको संयुक्त फोरम बनाउन सांसदहरूको जोड


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जलवायु परिवर्तनको विषयमा संघीय संसदका दुवै सदनका सांसदहरू सम्मिलित फोरम बनाउनुपर्नेमा जोड दिएका छन् ।

हालैमात्र शाक्य अन्तरव्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी एशिया—प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् भने गौतम पनि १५० औं अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन्।

मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै दुवै सांसदहरूले जलवायु परिवर्तनका लागि संयुक्त फोरम निर्माण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शाक्यले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु समेत अट्ने गरी संयुक्त समिति बनाउनुपर्नेमा जोड दिइन् । देश निर्माणका लागि बजेट निर्माण सम्बन्धी संयुक्त कमिटी बनाउनुपर्ने बताइन् ।

उनले अन्तर्राष्ट्रिय फोरमहरुसँग सम्बन्धित विभिन्न समितिमा नेपालको उपस्थिति कमजोर रहेको भन्दै अब नेपालले सहभागिता बढाउने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् । त्यसको लागि आन्तरिक तयारीलाई पनि त्यत्तिकै जोड दिन आवश्यक रहेको उनको भनाइ छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु सहभागी संयुक्त फोरम बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

जलवायु परिवर्तनका मुद्दाहरु राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास लगायतका समितिहरूमा छलफल हुने गरेको भएपनि संसदमा पनि छुट्टै कमिटी बनाउन जरुरी देखिएको उल्लेख गरिन् ।

जलवायु परिवर्तनको मुद्दा नेपालका लागि महत्वपूर्ण विषय रहेकाले फोरम बनाएर अघि बढ्दा कतिपय समस्या समाधान हुनेमा जोड दिइन् । सांसदहरूले आइपियुमा भाग लिन हरेक ६ महिनामा जानुपर्ने भएकाले नयाँ टिमलाई भाग लिइसकेका सांसदहरुले जानकारी गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गरिन् ।