आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा


काठमाडौँ । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

उक्त निर्णयपछि संस्थाको दैनिक सञ्चालनमा पूर्ण रोक लगाउने छ भने त्यसको सम्पत्ति तथा ऋण-स्रोतहरूको अध्ययन गरी पीडित बचतकर्ताहरूलाई रकम फिर्ता दिलाउन समितिले आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रक्रिया अघि बढाउनेछ। मन्त्रालयले उक्त सहकारीलाई २०८१ साल चैत २७ गते निर्णय गरेको जनाएको छ ।आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केबी उप्रेती हुन् उनी हाल जेलमा छन् ।