युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यक छः मुख्यमन्त्री लामा


काठमाडाैँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौति र आवश्यकता भएको बताएका हुन् ।

उनले आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडी बढाएको दाबी गरे । उनले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा राखे ।

“प्रदेशले स्किल म्यानपावर डेभलप गर्नको लागि सीटीइभीटीको कन्सेप्टबाट २६ सय बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ । त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता गरेको छु । अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ । धेरै आयआर्जन सकिन्छ । व्यवसाय गर्न सकिन्छ । अहिलेको इन्टरनेटको जमाना छ । युवा पिढीलाई नेपालमै आय आर्जन गर्नको लागि व्यवस्था मिलाउनु चुनौती छ,”उनले भने ।

मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गरे । उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राखे ।