काठमाडौँ । वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज विहान ७ बजेबाट लागू हुने गरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो।
जिल्ला सुरक्षा समितिको मिति २०८१ साल चैत ३१ गतेको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) अनुसार निषेधाज्ञा जारी गरिएको थियो। सो निर्णयअनुसार वीरगन्ज महानगरपालिका भित्र पर्ने पूर्वतर्फ बाईपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको थियो।
तर पछिल्लो अवस्थाको समीक्षा गर्दै जिल्ला सुरक्षा समितिले हिजाे बसेको बैठकबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो। सो निर्णयअनुसार वैशाख ५ गते विहान ७ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस्