चैत १५ को हुलदंगाबाट निर्जीवन बिमा कम्पनीहरूमा ४ करोड ५९ लाखको दाबी पेश


काठमाडौँ । काठमाडौँमा गत चैत १५ गते राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुलदंगामा परिणत भएपछि त्यसबाट भएको क्षतिको असर बिमा कम्पनीहरूमा पनि ठूला दाबीको रूपमा देखिन थालेको छ। बिमा प्राधिकरणले वैशाख ३ गतेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त दिनको हुलदंगाका कारण निर्जीवन बिमा कम्पनीहरूमा चार करोडभन्दा बढीको क्षतिपूर्ति दाबी परेको जानकारी दिएको छ।

बिमा प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार १२ ओटा बिमा कम्पनीहरूमा हालसम्म ५० वटा क्षतिपूर्ति दाबी दर्ता भएका छन्। ती दाबीहरूअनुसार कम्पनीहरूले कूल ४ करोड ५९ लाख ६२ हजार ७२१ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

जसमा शिखर इन्स्योरेन्स कम्पनीले सबै दाबीको भुक्तानी पूरा गरिसकेको छ। कम्पनीले ओटा दाबीका लागि ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरिसकेको छ।

हुलदंगाबाट सबैभन्दा धेरै क्षतिको दाबी राष्ट्रिय बिमा कम्पनीमा परेको छ। यस कम्पनीले दुई ओटा दाबीका लागि १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

दोस्रो ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यस कम्पनीले ८ओटा दाबीबापत ७६ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जस मध्ये ५ वटा दाबीका लागि २६ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ ओटा दाबी परेकाे छ जसको भुक्तानी रकम ७५ लाख ४९ हजार रुपैयाँ पुग्छ। तर कम्पनीले हालसम्म २ वटा दाबीमा मात्र २ लाख २ हजार रुपैयाँ भुक्तानी गरेको छ।

त्यस्तै नेको इन्स्योरेन्सले ४ ओटा दाबीमा ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ ओटा दाबीमा ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ ओटा दाबीमा २२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकाे छ । त्यसैगरि नेसनल इन्स्योरेन्सले ११ ओटा दाबीमा २० लाख ७५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ ओटा दाबीमा १७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यता आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ ओटा दाबीमा २८ हजार ३०० रुपैयाँ भुक्तानी गरिसकेको छ। नेपाल इन्स्योरेन्समा परेको १ ओटा दाबीको भुक्तानी रकम ८ लाख ७१ हजार रुपैयाँ रहेको छ भने सानिमा जीआईसी इन्स्योरेन्समा परेको १ ओटा दाबीको भुक्तानी ६ लाख रुपैयाँ छ। प्रभु इन्स्योरेन्सले पाएका २ ओटा दाबीका लागि १ लाख १० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।