काठमाडाैँ । सामाजिक सञ्जालमा कक्षा १२ को वार्षिक परीक्षा स्थगनसम्बन्धी भ्रामक सूचना फैलिन थालेपछि राष्ट्रिय परीक्षा बोर्डले ती सूचनाहरूलाई पूर्णरूपमा असत्य र भ्रामक रहेकाे जनाएकाे छ ।
बोर्डका अनुसार २०८२ साल वैशाख ११ गतेदेखि सुरू हुने वार्षिक परीक्षा यथावत् तालिकाअनुसार सञ्चालन हुने छ। परीक्षा स्थगित भएको भन्ने आशयका केही सूचना विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विद्यार्थीहरूमा अनावश्यक भ्रम र मानसिक तनाव फैलिएको भन्दै बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानकार्षण गराएकाे हाे ।
बोर्डले परीक्षा स्थगित भएको भनेर सामाजिक सञ्जालमा प्रचार गरिएको सूचनाहरू बोर्डको आधिकारिक लेटरप्याडमा अध्यक्षको स्क्यान गरिएको हस्ताक्षरसहित अनधिकृत रूपमा सम्प्रेषण गरिएको पाइएकाले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई साइबर कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको पनि जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लगायतका सबै सूचना बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मार्फत मात्र सार्वजनिक गरिने जनाएको छ र अन्य माध्यमबाट आउने कुनै पनि सूचना, समाचार वा पोस्टहरूमा भर नपर्न विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय प्रशासनलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्