काठमाडौँ । नेकपा एमालेले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेको भौतिक पूर्वाधार तथा यातायात विभागले मन्त्रीलाई लिखित रूपमा सुझाव बुझाएको हो।
विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको काम प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको जानकारी दिए।
उनका अनुसार सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग र पानी जहाज कार्यालयसँग सम्बन्धित विषयलाई समेटेर सुझाव तयार पारिएको हो।
विष्टका अनुसार राष्ट्रिय गौरवका आयोजनाहरू, दुर्गम क्षेत्रका पूर्वाधार, रणनीतिक महत्वका योजना, आर्थिक विकास तथा रोजगारी सिर्जनामा टेवा पुग्ने कार्यक्रमहरू नीति तथा बजेटमा प्राथमिकता दिनुपर्ने एमालेको प्रस्ताव छ।
कार्यक्रममा सहभागी मन्त्री दाहालले पार्टीको सुझाव अल्पकालीन र दीर्घकालीन आवश्यकता समेटिएको महत्वपूर्ण दस्तावेज भएको बताए ।
आगामी बजेटमा निर्माणाधीन र अधुरा योजनाहरूलाई पूरा गर्न प्राथमिकता दिने स्पष्ट पार्दै उनले सडक सञ्जाल विस्तार, राष्ट्रिय एकता सुदृढ बनाउने भौगोलिक पहुँच, उत्पादन तथा रोजगारी वृद्धि, राजस्व संकलन र वैदेशिक व्यापार सहजता जस्ता विषयमा बजेट केन्द्रित हुने जानकारी दिए ।
मन्त्री दाहालले नेपाली पानी जहाजको पहुँच अन्तर्राष्ट्रिय समुद्रसम्म पुगोस् भन्ने उद्देश्यले सन्धि र कानुनहरूको अध्ययन भइरहेको जनाए। साथै, सार्वजनिक यातायात प्रविधिमैत्री बनाउने, रुग्ण आयोजनाहरूको समाधान, रेलमार्ग विस्तार तथा निर्माणका समस्याको निराकरणमा मन्त्रालयले विशेष ध्यान दिएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्