पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त


काठमाडाैँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा उनले पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा आएर बोल्ने अवस्था नरहेको बताए ।

पन्तले आफूले अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेको बताउँदै समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्ट मात्रै दिनुपर्ने जिकिर गरे । उनले आफूहरुले भ्रष्टाचारीहरुलाई जोगाउन नखोजेको बताए । उहाँले फौजदारी मुद्दाको प्रकृति हेरेर मात्रै कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउँदै कसैलाई पनि अन्याय नहोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।

उनले समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति आपत्ति जनाए । संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो ।