काठमाडाैँ । ‘खाद्यका लागि कृषि’ अभियानले जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘जैविक जागरण यात्रा’ सुरू गरेको छ। हिजाे (वैशाख ९ गते) काभ्रेपलाञ्चोकबाट आरम्भ भएको यो यात्रा एक महिनासम्म विभिन्न जिल्लामा सञ्चालन हुनेछ।
यात्राको पहिलो दिन काभ्रेपलाञ्चोकस्थित कृषि विकास कार्यालय, हसेरा पर्माकल्चर फार्म र नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसान प्रतिनिधिहरूसँग संवाद गरिएको थियो।
छलफलका क्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै उर्वर जमिनको संरक्षणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
नमोबुद्ध नगरपालिका वडा नम्बर ४ भकुण्डेबेसीका अगुवा किसानहरूले भने बीउबीजनमा बढ्दो परनिर्भरता, रैथाने बीउ लोप हुने अवस्था, स्थानीय उत्पादनको लागत र प्रक्रिया झन्झटिलो हुनु, वन्यजन्तुबाट हुने क्षति, जैविक उत्पादनको बजार अभाव र दूधको भुक्तानीमा हुने ढिलाइ जस्ता समस्याहरू उठान गरेका थिए ।
पर्माकल्चर अभियानका प्रवर्तक गोविन्द शर्माले जैविक जागरण यात्राको सफलताको शुभकामना व्यक्त गर्दै अभियानले किसानहरूका आवाज सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्