काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाएका हुन्।
आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ छ । उनले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरे । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषिलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गरे ।
उनले लोकतन्त्रको कडीका रूपमा रहेका संस्थाहरूप्रति जनताको विश्वास घट्दै गएको बताए । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको बताए ।उनले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।
उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताए । उनले चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गरे । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै काँग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताए । उनले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्