सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्ने तयारीमा सरकार


काठमाडौँ । सहकारी क्षेत्रको पुनःसंरचनालाई तीव्रता दिँदै सरकारले अब सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एक आपसमा गाभ्ने तयारीमा जुटेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहकारी क्षेत्रभित्र दोहोरो संरचना हटाउने र कार्यदक्षता बढाउने उद्देश्यले यी दुई निकायलाई मर्ज गरिने स्पष्ट पारे ।

“राष्ट्रिय सहकारी बोर्ड पहिले नै खारेज भइसकेको छ,” मन्त्री अधिकारीले भने, “अब सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र पनि मर्ज हुन्छ । आवश्यक संरचना मात्र राखेर अनावश्यक हटाइन्छ ।”

उनले प्राधिकरणको गठनपछि विभागको औचित्यमाथि उठेका प्रश्नहरूको जवाफसमेत यस मर्ज प्रक्रिया मार्फत दिइने जानकारी दिए । सहकारी व्यवस्थापनलाई एकीकृत, पारदर्शी र जवाफदेही बनाउने लक्ष्यअनुसार मन्त्रालयले संरचनात्मक सुधारमा जोड दिएको मन्त्री अधिकारीको भनाइ थियो ।

उनका अनुसार सहकारी क्षेत्रको नियमन, अनुगमन र अनुसन्धान कार्यहरूलाई अब एउटै निकायको समन्वयमा सञ्चालन गरिनेछ । यसले प्रशासनिक झमेलामा कमी ल्याउनुका साथै नीति र कार्यान्वयनबिचको दूरी घटाउने विश्वास व्यक्त गरिएको छ ।