काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारलाई सुशासनका विरुद्ध खडा गरिएको विचौलियाहरूको सरकार भन्दै आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले गैरजिम्मेवार ढंगले काम गरिरहेको बताएका हुन् । उनले अलिकति पनि राजनीतिक विवेक र ज्ञान भएका व्यक्तिहरूले समेत यो सरकार विचौलियाको सरकार भएको स्वीकार गर्न थालेको दाबी गरे ।
दाहालले सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको संरक्षण गर्ने र राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने प्रवृत्तिमा लागेको आरोप लगाए । उनले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने सरकार उल्टै शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने कार्यमा लागेको टिप्पणी गरे ।
“देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ। सडकमा लाखौं शिक्षकहरू आन्दोलनमा छन्, झन्डै एक महिना पूरा हुन लागिसकेको छ। तर सरकार र यसको नेतृत्व अत्यन्त गैरजिम्मेवार देखिएको छ,” दाहालले भने ।
अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सहमति र सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका मागहरू पूरा गर्न र आवश्यक भएमा छोटो प्रक्रियाबाट ऐन बनाउने पक्षमा रहेको समेत उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्