शिक्षक आन्दोलन : आज बस्ने बैठकमा सहमति हुने सम्भावना


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबिच आज दिउँसो पनि वार्ता हुने भएको छ । सोमबार राति सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्ता सकारात्मक भएपनि अन्तिम सहमति हुन सकेको थिएन ।

सरकार तर्फबाट शिक्षामन्त्री रघुजी पन्तको टोली र महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको प्रतिनिधि टोलीबिच वार्ता भएको थियो । वार्ता सकरात्मक बनेको सहभागीहरुले बताएका छन् ।

वार्तापछि मन्त्री पन्तले केही बुँदामा छलफल बाँकी रहेपनि समग्रमा वार्ता सकारात्मक ढङ्गमा अघि बढेको हुँदा छिट्टै सहमतिमा पुग्ने बताए । उनका अनुसार आज बस्ने बैठकमा सहमति हुनसक्ने सम्भावना रहेको छ ।

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्नुपर्ने पक्षमा सरकार दृढ रहेको उल्लेख गर्दै आन्दोलनका विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिए। उनले सरकार वार्ता छिट्टै निष्कर्षमा पुर्‍याउने प्रयासमा रहेको स्पष्ट पारे।

यता, महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भएको जानकारी गराउँदै अझै धेरै बुँदामा सहमति जुट्न बाँकी रहेकले माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताउँछन् ।

शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन लगायतका मागसहित विगत २८ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।