नुवाकोट । भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारका लागि कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनल (केएफएचआई) को आर्थिक सहयोग तथा चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सिडिपिएन) को समन्वयमा राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
सिडिपिएन नेपालका अनुसार केएफएचआईको आर्थिक सहयोगमा भदौ ११ गतेदेखि प्रभावित समुदायमा राहत तथा सहयोगका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। असोज ५ गते नुवाकोटस्थित त्रिशूली माध्यमिक विद्यालयका करिब १ हजार विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री उपलब्ध गराइएको सिडिपिएनले जनाएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका सडक तथा सवारीसाधनको पहुँच नपुगेका क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) सँगको सहकार्यमा हेलिकप्टरमार्फत खाद्यान्न तथा आवश्यक राहत सामग्री पठाइएको जानकारी दिइएकाे छ । राहतसँगै प्रभावित बालबालिकाको शैक्षिक आवश्यकतालाई समेत प्राथमिकता दिइएको छ।
नुवाकोटको बिदुर–बटारस्थित हिमालयन एकेडेमीमा आश्रय लिइरहेका रसुवाका १०० परिवारलाई दैनिक जीवनमा आवश्यक राहत सामग्री वितरण गरिएको छ। उनीहरूलाई कम्बल, म्याट्रेस, टावल, मच्छरदानी, टी–सर्ट, चप्पल, नुहाउने तथा लुगा धुने साबुन, टूथपेस्ट, ब्रस र सामान राख्ने झोलालगायत सामग्री उपलब्ध गराइएको हो।

विद्यालय जाने बालबालिकाका लागि ३० थान स्कुल झोलासहित त्यसमा आवश्यक शैक्षिक तथा खाद्य सामग्रीसमेत राखेर वितरण गरिएको सिडिपिएनले जनाएको छ। राहत सामग्री हस्तान्तरण कार्यक्रममा केएफएचआईका निर्देशक तथा नेपाल प्रमुख पार्क, सिडिपिएनका प्रतिनिधि बालकृष्ण भट्टराई र साथी कम्प्युटरका रणजीत पोद्दारलगायतको सहभागिता थियो।
यसअघि भदौ ३१ गते नुवाकोटको तुप्चेमा बिदुर नगरपालिकासँगको सहकार्यमा १०० परिवारलाई ग्यास सिलिन्डरसहित आवश्यक भान्साका सामग्री हस्तान्तरण गरिएको छ।

केएफएचआईले बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री सहयोग गरेको जनाएको छ। संस्थाले विपद्का समयमा प्रभावित समुदायलाई आपत्कालीन सहयोग उपलब्ध गराउनुका साथै शिक्षा, स्वास्थ्य तथा समुदायको पुनर्स्थापनाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ।
बाल विकास कार्यक्रम नेपाल (सिडिपिएन) ले बालबालिका तथा समुदायको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले विपद्का समयमा स्थानीय तह तथा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा प्रभावित परिवार तथा बालबालिकाको तत्कालीन आवश्यकता सम्बोधन र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

केएफएचआई विश्वका विभिन्न देशमा विपद् तथा मानवीय संकटबाट प्रभावित समुदायका लागि राहत, पुनर्स्थापना तथा विकासका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। संस्थाले विशेषगरी बालबालिका, परिवार तथा जोखिममा रहेका समुदायको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनमा सहयोग गर्दै आएको छ।
नेपालमा पनि संस्थाले विभिन्न साझेदारमार्फत विपद् प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सिडिपिएन) बालबालिका तथा समुदायको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो। संस्थाले स्थानीय तह, अन्तर्राष्ट्रिय संस्था तथा अन्य साझेदारसँगको सहकार्यमा बालबालिका र जोखिममा रहेका परिवारको संरक्षण तथा विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विपद्का समयमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापना र समुदायको उत्थानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको सिडिपिएनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्