काठमाडौँ । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
सन्देशमा उनले सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै सुरू गरेको आन्दोलनको सफलताको स्मरण गर्दै हरेक वर्ष यो दिनलाई विश्वभरका मजदुरहरूले अधिकार र सम्मानका लागि मनाउँदै आएको उल्लेख गरेका छन्।
देउवाले नेपालमा विसं २००३ मा विराटनगर जुट मिलमा भएको पहिलो श्रमिक आन्दोलनले प्रजातन्त्रको जग बसाएको स्मरण गर्दै नेपाली कांग्रेस र मजदुर आन्दोलन एकअर्कासँग सधैं नजिक रहेका बताएका छन्। “वि।सं। २०१६ मा कांग्रेस नेतृत्वको सरकारले पहिलोपटक कारखाना तथा मजदुर सम्बन्धी कानून तर्जुमा गरेको थियो,” देउवाले सन्देशमा उल्लेख गरेका छन्, “ट्रेड युनियन ऐन, श्रम ऐन र सामाजिक सुरक्षा कोष स्थापना लगायतका पहलमा पनि कांग्रेस अग्रसर रहँदै आएको छ।”
उनले आज पनि श्रमिकहरू अनेकौं समस्याबाट गुज्रिरहेकाले तिनको समाधानका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्। “श्रमिकहरूको कार्य वातावरण, सामाजिक सुरक्षा, उचित पारिश्रमिक तथा पेशागत सम्मानका विषयमा कांग्रेस सधैं क्रियाशील रहँदै आएको छ,” उनले भने।
प्रतिक्रिया दिनुहोस्