काठमाडाैँ । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।
आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे । उनले सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेका कारण नेपाली धेरै समस्याहरुको सामना गर्नुपरेको बताए ।
“हामीले श्रमिकको हितमा काम गर्नुपर्छ । हामीले कसरी उहाँहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने ? वैदेशिक रोजगरीमा जना बाध्य युवाहरुलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ,” उनले भने ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगारदाताको मागअनुसार पठाउनेगरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्