काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान संघीय, धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको टिप्पणी गरेका छन्।
श्रमिक दिवसको अवसरमा बिहीवार राप्रपानिकट मजदुर संगठन (टुकोन) द्वारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले भने, “वर्तमान व्यवस्थाबाट न शान्ति सम्भव छ, न स्थायित्व, न त आर्थिक विकास। बरु यो व्यवस्था उदास, हतास र निराश आमनागरिक उत्पादन गर्ने स्रोत बनेको छ।”
थापाले अबको माग हिन्दूवादी शक्तिहरुको एकता रहेको उल्लेख गर्दै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण वर्षायाम सुरु हुनु अगावै निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले भने, “राप्रपा, नेपालले विगत केही वर्षदेखि भ्रष्ट शासन व्यवस्थाबाट देशलाई मुक्त गर्दै सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने अभियानमा लागेको छ। हामीले तीन तहको संघीयताको सट्टा केन्द्र र स्थानीय तहको दुई तहमा सीमित संरचना हुनुपर्ने माग गर्दै आएका छौं।”
थापाले वर्तमान प्रणालीविरुद्ध विभिन्न दल र समूहहरुले छुट्टाछुट्टै संघर्ष गरिरहे पनि त्यो प्रभावकारी हुन नसकेको भन्दै सबै राजसंस्था पक्षधर समूहलाई एक साझा मोर्चामा उभिन आह्वान गरे।
उनले वैशाख १५ गते राजसंस्था पुनःस्थापनाको पक्षमा लागेका दल र समूहहरूले स्पष्ट सन्देश दिइसकेको दाबी गर्दै भने, “अब सबै राष्ट्रवादी शक्तिहरू साझा मोर्चा बनाएर अघि बढ्नुपर्छ।”
अध्यक्ष थापाले हिन्दू राष्ट्र स्थापनासहित सुशासन कायम गर्न राष्ट्रवादी आन्दोलनमा आफूहरू सक्रिय रहेको बताए।
प्रतिक्रिया दिनुहोस्