काठमाडौँ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ६ मिर्दीमा रहेको आलमदेवी सिरक डसना उद्योगमा आगलागी हुँदा १४ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रवेश तिवारीका अनुसार आज दिउँसो करिब १ बजेतिर आगलागी भएको हो। नुवाकोट मेगाङ गाउँपालिका वडा नम्बर ६ घर भई हाल मिर्दीमा बसोबास गर्दै आएका ३४ वर्षीय रमेश तामाङद्वारा सञ्चालित उद्योगमा मेसिन सञ्चालन भइरहेको बेला अचानक बिजुली सट भएर आगलागी भएको हो।
प्रवेश तिवारीका अनुसार आगलागीबाट मानवीय क्षति नभएको भए पनि कपडा पेल्ने मेसिन, फाइबर, लत्ता कपडा लगायतका सामग्री जलेर अन्दाजी १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। आगो हाल नियन्त्रणमा ल्याइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्