काठमाडाैँ । नेकपा (एमाले) ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताए। उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा ग्रहण गरेको बताए ।
उनले सांसदहरुले ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । विगतका सरकारहरूले सुरू गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरूको सुझाव रहेको बताए ।
संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरू प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले नेताहरूले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए । किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । उनकाअनुसार सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरूको छ ।
उपममासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरू कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्