विद्यालय परिसरमा नेपाली भाषा बोले विद्यार्थीलाई दण्डित नगर्न काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोग गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

महानगरपालिकाका शिक्षा अधिकृत नेत्र नारोथण पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, केही अङ्ग्रेजी माध्यमका विद्यालयहरूले विद्यार्थीहरूलाई विद्यालय परिसरभित्र नेपाली भाषामा संवाद गरेमा सजाय वा जरिवाना गरिरहेको भन्ने गुनासोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ।

“यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरेको छ भने र विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेबापत विद्यार्थीलाई दण्डित वा जरिवाना गरिएको छ भने, उक्त कार्य तुरुन्त बन्द गर्न सूचित गरिन्छ,” सूचनामा भनिएको छ।

काठमाडौँ महानगरले यस्तो कार्य दोहोरिएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।