सरकारलाई वर्षमानको प्रश्नः ट्यारिफ वारले विश्वव्यापी संकटको खतरा छ, नीति तथा कार्यक्रममा समाधान खै ?


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताएका हुन्।

उनले पश्चिमा विश्व नै उदारीकरण/नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाए । उनले पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेको समेत जिकिर गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले ट्यारिफ वारले निम्त्याउनसक्ने समस्याको समाधान कसरी गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको धारणा राखे । उनले सरकारलाई थप जिम्मेवार र प्रतिवद्ध बन्न समेत सुझाव दिए ।  उनले नीति तथा कार्यक्रम अध्ययन गर्दा सरकार केही कुरामा अल्मलिन र पछाडि फर्कने खोजेको धारणा राखे ।