काठमाडाैँ । सरकारको स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अनुसार चालु आर्थिक वर्षमा युवाहरूले सञ्चालन गर्न चाहेका ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनौट भएका छन्।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार देशभरका विभिन्न युवाहरूका उद्यम योजनामध्ये ६६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।
प्रतिष्ठानका अनुसार अनलाइन र भौतिकरूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले दर्ता गराएका प्रस्तावमध्ये १ हजार ३१४ जनाले परियोजनाको प्रस्तुतीकरण गरेका थिए। तीमध्ये ६६१ योजना छनौट गरिएका हुन्।
छनौटमा परेका उद्यमीले आफ्नो व्यवसायिक योजना अनुसार अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउने छन्।
सरकारले युवालाई उद्यमशीलतामा सक्रिय गराउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अघि सारेको छ। स्टार्टअप कर्जा योजना त्यही नीति अन्तर्गत सञ्चालित हो।
छनौटमा परेका परियोजनाहरू विभिन्न क्षेत्रका छन्, जसले कृषि, उत्पादन, सूचना प्रविधि, सेवा लगायतका क्षेत्रमा नयाँ रोजगारी र नविनतम व्यवसायिक अभ्यासको सम्भावना देखिएको प्रतिष्ठानको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्