काठमाडौं । ८० प्रतिशतले नाफा खुम्चिएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा निरन्तर उछाल देखिएको छ ।
दोस्रो बजारमा कारोबार सुरु भएको १८ दिनमा नेपाल माइक्रो इन्स्योरेनसको सेयर मूल्य १८ गुणाले बढेर मङ्गलबार प्रतिकित्ता १८४७.५० रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको बजार पुँजीकरण ११ अर्ब ४४ करोड बढि पुगेको छ ।
सेयर बजारका जानकारहरूले कम्पनीको सेयर मूल्यमा कर्नरिङ भएको दाबी गरेका छन् । सेयर मूल्यमा कर्नरिङ गुर्नलाई अपराध मानिन्छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले गत माघ र फागुनमा गरी दुई चरणमा आइपिओ निष्काशन गरेको थियो ।
माघमा वैदेशिक रोजगारीमा गएका श्रमिकको लागि र फागुनमा आम सर्वसाधारणको लागि आइपिओ निष्काशन तथा बिक्री खुला गर्यो ।
कम्पनीले आइिपओ बाँडफाँड सम्पन्न गरेर गत चैत २१ गते नेपाल स्टक एक्सचेन्जमा ७५ करोड मूल्य बराबरको ७५ लाख कित्ता सेयर सूचिकृत भयो ।
जसमध्ये ७० प्रतिशत अर्थात ५२ लाख ५० हजार प्रमोटर सेयर रहेको छ भने ३० प्रतिशत अर्थात २२ लाख ५० हजार पब्लिक सेयर रहेको छ ।
धितोपत्र दोस्रो बजारमा चैत २५ गतेदेखि नियमित कारोबारमा आउने भनिएपनि पहिलो दिन कारोबार हुन सकेन । चैत २६ गते प्रि–ओपन सेसनमा प्रतिकित्ता ३०२ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भयो ।
यस दिन कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले बढेर सकारात्मक सर्किट लाग्यो । पहिलो कारोबारको दिन देखिनै लगातार १० प्रतिशतले बढ्दै आएको कम्पनीको सेयरमूल्यमा निरन्तर उछाल छ ।
कम्पनीको सेयरमूल्य कारोबार नियमित कारोबार सुरु भएको केही मिनेटमै सर्किट लाग्ने गरेको छ । नेपाल माइक्रो इन्स्याेरेन्सकाे सेयरमूल्यमा कर्नरिङ भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्याक्ष राजन लम्साल बताउँछन् ।
उनी भन्छन, “भर्खरै आइपिओ जारी भएका कम्पनी सप्लाई कम भएर कर्नरिङ भएको हो, थोरै कित्ता सेयर धेरै छरिएर रहनु नै मुख्य कारण हो ।”
अहिले माइक्रो इन्स्याेरेन्सकाे सेयरमूल्य यति उच्च हुनुपर्ने वित्तीय अवस्था तथा आधार केही नभएको लम्सालको भनाई छ ।लम्सालका अनुसार १० कित्तावाला सेयरधनीहरूले अझै बढ्छ भन्ने आशमा सेयर होल्ड गर्दा बजारमा सप्लाई आएन ।
यस अघि आइपिओ जारी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि दोस्रो बजारमा २७ सयको हाराहारीमा पुगेर तल झरेको थियो ।
अहिले दोस्रो बजारमा कारोबार भएका कुनै पनि माइक्रो इन्स्योरेन्सको वित्तीय अवस्था हेर्दा सेयरको मूल्य न्यायोचित नभएको जानकारहरू बताउँछन् ।
सेयर बजारका जानकार सुवास ढुङ्गाना पनि कम्पनीको सेयरमूल्यमा कर्नरिङ भएको बताउँछन् । नयाँ कम्पनीको अवस्था कस्तो छ भनेर बाहिर थाहा नहुँदाको अवस्थामा केही खेलाडीहरू सेयर मूल्य कर्नरिङ गरेर उच्च बनाएको उनको भनाई छ ।
सीमित व्यक्ति र समूहले सेयर किनबेच गर्ने र मूल्यमा नियन्त्रण गर्ने प्रवृत्ति सेयरबजारमा रहेको छ ।
कर्नरिङ भएको उजुरी परेमा नेपाल धितोपत्र बोर्डले छानविन गरेर कारबाही गर्दछ । धितोपत्र बजार सम्बन्धी ऐन, २०६३ ले बजारलाई प्रभावित पार्ने गतिविधि गरेमा कसुर मान्ने व्यवस्था गरेको छ ।
भित्री कारोबार अथवा कर्नरिङ भएको ठहरेमा विगो बमोजिम जरिमाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
८० प्रतिशतले खुम्चियो मुनाफा
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण सन्तोषजनक छैन । नेप्सेमा कम्पनीले सकरात्मक छलाङ मारेपनि कम्पनीको नाफामा ठुलो गिरावट छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ८०.०८ प्रतिशतको गिरावट छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । अघिल्लो आथिक वर्षको सोही अवधिमा भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्कमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले ५ करोड ४६ लाख रुपैयाँबराबरको खुद बिमाशुल्क उठाएको छ ।
कम्पनीको आम्दानी भन्दा खर्च बढेको देखिन्छ । कम्पनीको कुल आम्दानी १३०.७५ प्रतिशतले बढेर ११ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको खर्च अघिल्लो आ.व.को तुलनामा १४६.२० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ११ करोड ५२ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष सोही अवधिमा ४ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको दाबी भुक्तानी पनि ४१ लाखबाट बढेर २ करोड ५१ लाख पुगेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ८० हजार ६.२ वटा बीमा पोलिसी जारी गरेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार २ लाख ६७ हजार र रिटेन्ड अर्निङको आकार २२ लाख ८ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०० रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्