काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५’ काे दशौं संस्करण आजबाट काठमाडौँको भुकृटीमण्डपमा सुरू भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए।
“हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ, ” मन्त्री भण्डारीले भने ।
उनले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गरे।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा थियो ।
नेपाल, चीन र बंगलादेशका गरि १२० भन्दा बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्