काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब राजावादीहरूको एकता कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले आफूहरू एकताबद्ध भएर आन्दोलनमा होमिएको जानकारी दिए ।
थापाले जेठ १५ गते काठमाडौँमा लाखौं जनताको सहभागितामा शान्तिपूर्ण प्रदर्शन गरिने बताए । उनले भने,”हामी एउटा भाषणका लागि मात्र मञ्चमा आएका होइनौं, हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गर्ने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं।”
गणतन्त्र स्थापनाको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रूपमा व्याख्या गर्दै उनले राष्ट्रवादी नेपालीहरूको चिन्ता अब अन्त्य भएको दाबी गरे। थापाले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्नसमेत आग्रह गरे ।
अध्यक्ष थापाले आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने स्पष्ट पार्दै राष्ट्रवादी शक्तिहरुलाई एकजुट भएर एजेण्डा स्थापित गर्न आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्