काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धितोपत्र बोर्डले दलाली गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले उर्जा उत्पादकहरुले दुई वर्षदेखि आइपीओ जारी गर्न नपाएको अवस्थामा बोर्डले दलाली गरेको आरोप लगाए ।
लिङदेनले उर्जा उत्पादकहरुले सार्वजनिकरुपमा कमिसनको रेट नै तोकेर भनिरहँदा कारबाही प्रक्रिया अगाडी नबढाएको भन्दै प्रश्न गरे ।
उनले भने, ‘अब तपाई धितोपत्र बोर्डको शुद्धीकरण गर्ने भनेर भन्नुहुन्छ । धितोपत्र बोर्डले दलाली गरेर बसिराखेको छ । जनताको लगानीमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने कुरा गर्नुहुन्छ । दुई वर्षदेखि शेयर निष्काशन नभएर उर्जा उत्पादकहरु रोएर बस्नु परिरहेको छ । उर्जा उत्पादकहरु सार्वजनिक रुपमै सात प्रतिशत कमिसन मागिरहेको बताइरहनुभएको छ । कारबाही गर्नु पदैन ?’
अध्यक्ष लिङदेनले संविधान र गणतन्त्रात्मक व्यवस्थाको विरोधमा राजनीति गर्न नपाउने सरकारको नीतिको विरोध गरे ।
त्यस्तै लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राख्दै वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गरे ।
नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने उल्लेख गर्दै सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने बताए ।
प्रतिक्रिया दिनुहोस्