काठमाडौँ । भारत र पाकिस्तानबिच पहलगाम आक्रमणपछि चुलिएको तनावले युद्धस्तरको रूप लिइरहेका बेला दुई देशका सैन्य उच्च अधिकारीबिच वार्ता आज साँझ हुने भएको छ। वार्ता प्रारम्भमा सोमवार मध्यान्ह १२ बजेका लागि तय गरिएको भए पनि समय परिमार्जन गर्दै साँझ सारिएको हो।
वार्तामा भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक सहभागी हुनेछन्। यसअघि शनिबार भएको कुराकानीमा पाकिस्तानी पक्षले शत्रुता अन्त्य गर्ने प्रस्ताव राखेको थियो। त्यसपछि दुबै पक्षले सीमापार गोलीबारी र ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए।
तर, उक्त सहमतिपछि केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखामा गोलीबारी र हवाई घुसपैठ गरेको भारतले आरोप लगाएको छ। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आइतवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, “पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ। यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिनेछ।” उनका अनुसार उक्त उल्लङ्घनबारे पाकिस्तानी सेनालाई हटलाइनमार्फत जानकारी दिइएको छ।
भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा मे ७ देखि ‘अपरेशन सिन्दूर’ नामक सैन्य अभियान सञ्चालन गरेको छ। सो अपरेसन अन्तर्गत पाकिस्तान तथा पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो। उक्त आक्रमणमा परेर २६ जनाको मृत्यु भएको थियो।
भारत–पाकिस्तानबिच बढ्दो तनावको यस अवस्थालाई संवादमार्फत शान्तिपूर्ण समाधानतर्फ डोर्याउने प्रयासस्वरूप आजको वार्ता निर्णायक हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्