स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा कृषि तथा पशुपालन व्यवसायको प्रवर्धन र विकासका लागि ‘भीरकोट कृषि तथा पशु विकास परियोजना’ सुरू गरिएको छ।
हेफर प्रोजेक्ट नेपाल र भीरकोट नगरपालिकाको साझेदारीमा सञ्चालन हुने २० महिनाको यो परियोजनाले कृषकहरूलाई उद्यमशील र व्यवसायिक बनाउन लक्ष्य लिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीका अनुसार परियोजनाको उद्देश्य कृषि र पशुपालनको माध्यमबाट सामाजिक पूँजी निर्माण, साना किसानहरूको वित्तीय पहुँच अभिवृद्धि, उत्पादनको बजारीकरण तथा कृषि क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्नु हो।
नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले दीर्घकालीन तथा व्यवसायिक कृषि विकासमार्फत नगरवासीको आर्थिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित परियोजना सुरू गरिएको बताए। “भीरकोट समथरभन्दा बढी पहाडी भूभाग भएकाले यहाँ कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकतामा राखिएको छ,” उनले भने।
हेफर प्रोजेक्ट नेपालकी सचिव निर्मला क्षेत्रीले परियोजना महिलासहित पछाडि पारिएका समुदायलाई उद्यमशील बनाउनेतर्फ लक्षित रहेको बताइन्। संविधानले दिएको अधिकार प्रयोग गर्दै महिलाको आर्थिक उन्नतिमा परियोजना उपयोगी हुने उनले स्पष्ट पारिन्।
परियोजना नगरपालिकाका सबै ९ वटै वडामा सञ्चालन हुनेछ। मंगलबार, नगरपालिकाको सभाहलमा आयोजित हस्ताक्षर कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, वडा अध्यक्ष नन्दलाल खनाल, लक्ष्मण खत्री क्षेत्री, हेफर प्रोजेक्टका वित्तीय निर्देशक चैतन्य गोपाल डंगोल, वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदी लगायतले उपस्थिति रहेकाे थियाे ।
परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत आर्थिक साझेदारी रहनेछ। नगरपालिकाले २ करोड ४५ लाख रुपैयाँ र हेफरले १ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको लगानी गर्ने योजना रहेको योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए। परियोजनाको कुल बजेट तीन करोड ५० लाख रुपैयाँ रहेको छ। परियोजनाले बैंकहरूसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहको पहल समेत गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्